चन्द्रागिरि नगरपालिका–६ स्थित ऐतिहासिक एवं धार्मिक चन्दन भराटेश्वर महादेव मन्दिर परिसरमा पूर्वाधार निर्माण कार्यको शिलान्यास सम्पन्न भएको छ । यसका लागि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, चन्द्रागिरि नगरपालिका र काठमाडौँस्थित भारतीय राजदूतावासका बीचमा भएको त्रिपक्षीय समझदारीअनुसार आज मिति २०८१ मंसीर ३ गते सोमबार आयोजित कार्यक्रममा चन्द्रागिरि नगरपालिकाका नगर प्रमुख श्री घनश्याम गिरीज्यू र भारतीय राजदूतावासका नियोग उपप्रमुख प्रसन्न श्रीवास्तवज्यूले संयुक्त रुपमा पूर्वाधार निर्माणको शिलान्यास गर्नुभयो ।
कुल ६ करोड पाँच लाख सात हजार चार सय ६७ लागत रहेको सो परियोजनाको लागि भारतीय दूतावासबाट चार करोड ३६ लाख ९० हजार सहायता प्राप्त भएको छ। सो शिलान्यास कार्यक्रममा नगर उप-प्रमुख वसन्ती श्रेष्ठज्यू, प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालज्यू, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उप-सचिव महेन्द्र कुमार सापकोटाज्यू, बिभिन्न कार्यालयका प्रमुख एवम् प्रतिनिधिज्यूहरु, नगर प्रवक्ता श्री कृष्ण प्रसाद खड्गीज्यू, वडा अध्यक्षज्यूहरु, नगर कार्यपालिका सदस्यज्यूहरु, नगर सभा सदस्यज्यूहरु, नगर क्षेत्रभित्रका बिभिन्न राजनीतिक दलका प्रमुख एवम प्रतिनिधिज्यूहरु, कर्मचारीहरु, सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधिज्यूहरु, समाजसेवी, पत्रकार तथा विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो |
सो अवसरमा चन्द्रागिरि नगरप्रमुखज्यूले ऐतिहासिक चन्दन भराटेश्वर महादेव मन्दिर परिसरमा पूर्वाधार निर्माणपछि दोस्रो चरणमा मन्दिरको पनि कलात्मक जीर्णोद्धार गरिने जानकारी दिनुभएको थियो । साथै नगरपालिकाको समृद्धिका लागि वैदेशिक सहयोग भित्रिने क्रम जारी रहेको जानकारी दिँदै थानकोटमा जर्मन सरकारको सहयोगमा रु एक अर्बको लगानीमा अस्पताल निर्माण हुने जानकारी दिनुभयो । चन्दन भराटेश्वर महादेव मन्दिर परिसरमा पूर्वाधार निर्माणमा भारतीय दूतावासले आर्थिक सहयोग गरेकामा दूतावासलाई धन्यवाद समेत दिनुभएको थियो ।
सो अवसरमा भारतीय राजदूतावासका नियोग उपप्रमुख प्रसन्न श्रीवास्तवज्यूले आफ्नो भनाइ राख्नुभएको थियो । उक्त शिलान्यास कार्यक्रममा चन्द्रागिरि नगरपालिकाका उपप्रमुख बसन्ती श्रेष्ठज्यू र चन्द्रागिरि–६ का वडाध्यक्ष सञ्जय सिग्देलज्यूले चन्दन भराटेश्वर महादेव मन्दिरको ऐतिहासिक पक्षका बारेमा चर्चा गर्दै यस क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न आवश्यक रहेको बताउनु भएको थियो ।
सो अवसरमा चन्द्रागिरि नगरपालिकाका प्रशासकीय अधिकृत हेमराज अर्यालज्यूले ऐतिहासिक चन्दन भराटेश्वर महादेव मन्दिर परिसरमा पूर्वाधार निर्माणको समयमै सम्पन्न गर्न स्थानीय सरोकारवाला नागरिक तथा सङ्घसंस्थाले सकारात्मक सहयोग, निगरानी र अनुगमन गर्नुहुने अपेक्षा समेत गर्नुभएको थियो |