मिति २०८१ असार ३ गते चन्द्रागिरि नगरपालिका र जिल्ला प्रशासन कार्यालय काठमाडौँको संयुक्त आयोजनामा सुरक्षा समन्वय, अपराध नियन्त्रण तथा सार्वजनिक सेवा प्रवाह सम्वन्धी अन्तरक्रिया कार्यक्रम नगर प्रमुख घनश्याम गिरीज्यूको अध्यक्षतामा चन्द्रागिरि नगरपालिकाको सभाहलमा सम्पन्न भएको छ | उक्त अन्तरक्रिया कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जितेन्द्र वस्नेतज्यू सहित जिल्ला सुरक्षा समितिका उच्च नेतृत्व, नगर प्रमुख घनश्याम गिरीज्यू, नगर उप प्रमुख वसन्ती श्रेष्ठज्यू, प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालज्यू, नगर प्रवक्ता कृष्ण प्रसाद खड्गीज्यू, वडा अध्यक्षज्यूहरु, नगर कार्यपालिका सदस्यज्यूहरु, कर्मचारीहरु, वडा सचिवहरु, सरोकारवाला कार्यालयका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो | कार्यक्रममा वडाध्यक्ष, वडासचिव एवं विषयगत शाखाका प्रमुखहरूले प्रमुख जिल्ला अधिकारीज्यूसँग कार्यस्थलमा आइपरेका कानुनी समस्यालाई निराकरणका उपाय सुझाउन जिज्ञासा राख्नुभएको थियो भने प्र.जि.अ.ले सहभागीले राखेका जिज्ञासालाई सटिक जवाफ दिनुभएको थियो । जिज्ञासामा नागरिकता सिफारिस र अन्य प्रमाणित गर्नुपर्ने विषयलाई प्रमुखताका साथ उठान गर्नुभएको थियो । कार्यक्रममा चन्द्रागिरि नगरपालिकाका नगर प्रमुख घनश्याम गिरीज्यूले नगरपालिकाले सार्वजानिक सेवालाई क्रमशः विद्युतीय प्रविधिमा रुपान्तरण गर्दै जाने नीति लिएको, विपद् पूर्वतयारी, सडक दुर्घटना न्यूनीकरण, सार्वजनिक स्थल लगायत आवश्यक स्थानमा सिसी क्यामेरा जडानलाई उच्च प्राथमिकता दिइएको लगायतका सार्वजनिक सरोकारको विषयका वारेमा जानकारी दिनुभएको थियो | त्यसै गरि नगर उपप्रमुख वसन्ती श्रेष्ठज्यू, नगर प्रवक्ता एवं वडा नं ४ का वडाध्यक्ष कृष्णप्रसाद खड्गीज्यूले आ-आफ्नो भनाई राख्नु भएको थियो | कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतज्यूले स्थानीय प्रशासन र स्थानीय सरकारबीचको सहकार्य र समन्वयले सार्वजनिक सेवा प्रवाह थप चुस्त हुने र सङ्घीयतालाई बलियो बनाउन सहयोग पुग्ने बताउनु भएको थियो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालज्यूले सार्वजनिक सेवा प्रवाहलाई अझ चुस्त बनाउन, सुरक्षा समन्वय गर्न र अपराध नियन्त्रणमा स्थानीय सरकार र स्थानीय प्रशासनबीचको सहकार्य र समन्वय अभिवृद्धि गर्न कार्यक्रम आयोजना गरिएको बताउनुभयो । सहायक प्रमुख जिल्ला अधिकारी माधव ढुङ्गानाज्यूले स्थानीय सरकार र स्थानीय प्रशासनबीचमा हुने यस्ता अन्तक्र्रियाले दैनिक आइपर्ने समस्यालाई हटाउन सहज हुने बताउनुभयो । कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक वसन्त रजौरेज्यूले सङ्घीय, प्रदेश र स्थानीय सरकारको समन्वयमा नागरिकको हक–अधिकारलाई सुरक्षित गर्न सकिने कुरा उल्लेख गर्नुभएको थियो । अन्तरक्रिया कार्यक्रममा वडा नं ५, ८, ९, १०, ११, १३, १४, १५ का वडाध्यक्षज्यूहरु क्रमशः राजेन्द्र महर्जनज्यू, प्रल्हाद रिजालज्यू, अच्युत अधिकारीज्यू, शिवकुमार महर्जनज्यू, नरेन्द्रराज श्रेष्ठज्यू, श्रीकृष्ण खत्रीज्यू, राजभाइ महर्जनज्यू र घनश्याम लुइँटेलज्यूले सिफारिस र प्रमाणितका विषयमा प्रजिअसँग जिज्ञासा राख्नुभएको थियो । उहाँहरूले अत्यावश्यक सेवा प्रवाह गर्ने कार्यालय सार्वजानिक बिदाका दिन खुला गर्ने सरकारको नीतिलाई स्थानीय सरकारले साथ र सहयोग दिने जानकारी दिनुहुँदै सार्वजानिक सेवालाई जिल्ला प्रशासनले पनि प्रविधिमैत्री बनाउन सुझाव दिनुभएको थियो । कार्यक्रममा चन्द्रागिरि नगरपालिकाका विभिन्न शाखा प्रमुखहरु, वडा सचिवहरुले प्रजिअसँग जिज्ञासा राख्नुभएको थियो ।